नयन

खोइ के के झल्काउछन् ति नयनले झल्काउछन्
हर्दम तिमीतिरै ति नयनले पल्काउछन्

हलचल मच्चाई दिलमा मात्तिदै फिर्छन्
बस्नै दिन्नन् मनमा आगो सल्काउछन्

अमृत हो कि बिष छर्छन् ति हेराईमा नयनले
कती जिउदै मार्छन् कतिका आयु फर्काउछन्

कठिन लाग्छ बुझ्नै त्यो भाषा नयनको
झुकाइ भाग्छन् कहिले कहिले नजरमै थर्काउछन्
            

पागल

उ यस्तै छ यस्तै भइरहन्छ
कसैले सुनुन् नसुनुन् पागलझै कराइरहन्छ

कहिले देश बेचियो भन्छ इज्जत लुटियो भन्छ
भालुलाई पुराण सुनाएझै नेतालाई सुनाइरहन्छ

न माहोल देख्छ रोजगारको न रोकथाम महङ्गिको
जहाजमा युवाको लर्को हेर्दै मनोबल गुमाइरहन्छ

देश लुटिन्छ च्यातिन्छ मिल्छन् टाउकाहरु
देशभक्त केटो रिसले थर्थराइरहन्छ
            

भाँचिएका सपना

जालकाँडाको वनमा गौचरण जाँदा
जंगल नै गुञ्जयमान गराउने
बाँसुरीको सुरिलो धुनसँगै तरङ्गिन्थे सपनाहरु ।
र नाच्थ्यो आँखैभरी एउटा कलाकार
विभिन्न रसका सङ्गितमा
बाँसुरीको धुन मिसाउदै । ।
आँखैभरी नाच्थ्यो त्यो बादक
लामो झोला बोकेर देश विदेश डुल्दै
मञ्च मञ्चमा बाँसुरीको धुन सुनाउदै ।
खै कता पुगे ति सपना

विजयको ताज पहिरेर पुरस्कार थापिरहँदा
मुस्कानले सु-सज्जित ओठसँगै आँखाका डिलमा टिल्पिलाउने
बाबाका अश्रुढिक्कामा टल्किन्थे सपना ।
सुट बुट र टाइमा ठाँटिएको भलादमी अफिसर
आफ्नो गाडीको रिमोट चुइचुइ पार्दै
टकटक अफिसमा छिरेका दृश्य
मञ्चन हुन्थे ति आँखाका पर्दामा ।
खै कता पुगे ति सपना

सानुको हात समाउदै
काठमाण्डौका गल्ली गल्ली डुलिरहँदा
मिठामिठा प्रेमिल बातसँगै बहकिन्थे सपना ।
सपनामै सजिन्थ्यो त्यो सुन्दर घर
ठुलो कम्पाउन्ड भित्रको डेड तले चिटिक्कको घर
अगाडी हरियो बगैँचा र वरिपरी रङ्गीविरङ्गी फुलहरु ।
खिचिन्थे तस्विर ति हँसिला अनुहारका
जो शरदमा घामको स्पर्षसँगै मुस्कान साटिरहन्थे
र सपनासँगै मुस्काउदै खुल्थे ओठहरु ।
खै कता पुगे ति सपना

देखिँदा हुन सपना बाल्यकालमा पनि
आमाको काखमा खेल्दै गर्दा
ठुलो मान्छे भएको,
ताते ताते गराउँदा कुदने भएको,
बाबु क क गराउँदा
बोल्ने अनि लेख्ने भएको
त ताराबाजी लइ लइ सुन्दा गाउने भएको ।
सपनै सपनाको झाल हो जिन्दगी
कुनै सपनाले पात हाल्दा कोइ फुलिसक्छन्
कसैले फुल खेल्दा कसैका फल लाग्छन्
कोही फुल्छन् फल्छन् त कोही ओइलेर झर्छन्
अझ कोही लागेकै फल कुहिएर झर्छन् ।
हरेक क्षण, अवस्था अनि हर परिवेशमा
उनिन्थे सपना, बुनिन्थे सपना
अन्तर मनको ध्वनिमा सुनिन्थे सपना । ।
खै कता पुगे ति सपना

ताग्लानेरीको पर्खाल्, धुपीसल्लाको फेदमुनि
वारपार बिछ््याइएको दुवे गलइचामा बसी
अन्नपूर्ण र माछापुछ्रेसँग आँखा जुधाइरहँदा
आज मानसपटलामा सपनाका यि वृतचित्र
झर्ल्याक झुर्लुक गरिरहेछन्
र रसाइरहेछन यि नयनहरु ।
चिम्नीबाट बुर्लुक बुर्लुक निस्केको
धुँवाको मुस्लो उड्दै उड्दै
यत्रतत्र फैलेसरी
टुक्रा टुक्रा भै असरल्ल छरिएका छन्
सपनाहरु । ।

लोलाएका यि आँखाले टोलाउदै हेर्दा
आँगनभरी देख्छु भँगेराले छरेका बिस्कुनका दाना
सँगसँगै हेर्छु बै’को संघर्ष ।
कुप्रीएको ढाडमा १२ हाते पटुकी कसेर
सुइय… सुस्केरा हाल्दै कुचो लगाउछिन्
लहरे खोकीले चापेको छ, दमले गालेको छ
छिनछिनमा बस्छिन्, फेरी उठ्छिन् दाना बटुल्छिन्|
त्यो सानो आँगन र ति बिस्कुन दाना,
कती सानो परिधी तर कत्रो संघर्ष ।
बै’भन्दा कम कमजोर छैन म, निरिह छु
चापेका छन् गालेका छन्
सपनाले, आसाले अनि विश्वासले । ।

आँगनमा उछिट्टेका गेडा के होलान्
अझै पर कैँयौ टाढा उछिट्टेका छन् मेरा सपना
कठै बरा टुटेका फुटेका अनि भाँचिएका
केवल एकै ठाउँमा थान्को लगाएर के पुरा हुन्थे र!!
आत्तिन्छु, टोलाउछु, बाटै देख्दिन
अनी फेरी आत्तिन्छु
झल्यास्स सम्झिन्छु गुरुका कथन
आत्तिने, मात्तिने र तत्तिने कैले नगर्नु बाबु ।
मन ठेगानमा ल्याउन खोज्छु
अब देख्छु मेर सपनाहरु
भुइभरी छरिएका पुरानो पुस्तकका पानासरी
जसलाई एक थान लगाउन जरुरी छ
अहँ!! पुग्दैन, गाँस्नै जरुरी छ
तर के भर च्यातिदैन भन्ने ?
बरु थान लगाएर बाइन्डिङ्ग गरिदिन्छु
अझ स्पाइरल बाइन्डिङ्ग्
एउटा डर अझै छ मनमा
टुक्रीएका मेरा सपना बाइन्डिङ्ग गर्दै जाँदा
स्पाइरल तारसरी घुमिरहने त होइन जिन्दगी ? ? ?